काठमाडौं । बुधबारबाट सुरु हुने न्युडायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई होङ वान्जी बौद्ध समाज नेपालले प्रायोजन गरेको छ ।
प्रतियोगिताका लागि समाजले पाँच लाख बराबरको प्रायोजन गरेको हो । होङ वान्जीका नेपाल प्रमुख सोनाम वादी भुटिया र प्रतियोगिता संयोजक कुमार राईले मंगलबार प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासंगै होङ वान्जी बौद्ध समाजले आयोजकलाई ५ लाख नगद उपलब्ध गराउने छ । यस्तै प्रतियोगिताको नाम 'होङ वान्जी न्यु डायमण्ड कप दोश्रो खुला राष्ट्रिय महिला भलिबल' हुनेछ ।
प्रतियोगिता पौष २५ देखि २८ सम्म संचालन हुनेछ ।
यस्तै प्रतियोगितालाई नानी छोरी स्मृति प्रतिष्ठानका असोक कुमार मालीले तेश्रो पुरस्कारको रकम १ लाख १ हजारको प्रायोजन गरेका छन् । ब्ल्याकहर्ष सुजका एमडी चिनिया श्रेष्ठले चौथो पुरस्कार ५१ हजारको प्रायोजन गरेका छन् । सेन्चरी कमर्सियर बैंकले ब्यक्तिगत बिद्याका सम्पूर्ण उत्कृष्ट खेलाडीले प्राप्त गर्ने पुरस्कारको रकम ५० हजार प्रायोजन गर्ने भएको प्रतियोगिता संयोजक राईले बताए ।
त्यस्तै प्रतियोगितालाई अन्नपूर्ण गाउँपालीका छोमोरोङका भलिबल शुभचिन्तकबाट ५० हजार ४ सय,हाल अमेरिका निवासी भलिबलका बरिष्ठ प्रशिक्षक हुकुमराज गिरी र भलिबल खेलाडी रमिला तण्डुकारबाट ५०÷५० हजार सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । प्रतियोगितालाई मुक्तिनाथ विकास बैंकले ३० हजार,हेस्टेहैसे सहकारी,चन्द्रागिरी नगरपालीका वाडा १५ र हाल जापान निवासी निलम राउतबाट २५÷२५ हजार,कुमारी बैंकबाट २० हजार सहयोग गरेको छ ।
प्रतियोगिताको लागि नेपाल भलिबल संघले १५ हजार संघका अध्यक्ष मनोरन्जन रमण शर्माले २५ हजार संघका महासचिव जितेन्द्र बहादुर चन्दले १० हजार सहयोगको घोषणा गरेका भने चन्द्रागिरी नगरपालीका वाडा १५ का वाडा अध्यक्ष उत्तमवहादुर राउतले ब्यक्तिगत १० हजार सहयोग गरेका छन ।
नैकापस्थित न्युडायमण्ड एकेडेमीको कोर्टमा लिग कम नकआउटका आधारमा संचालन हुने प्रतियोगितामा सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ । साविक बिजेता न्यु डायमण्ड र चितवन टाईगे्रस समूह ‘ए’ मा रहेका छन् भने समूह ‘बी’ मा टप्स र पारामाउन्ट छन् ।
त्यस्तै समूह ‘सी’ मा आर्मी र पुलिस तथा समूह ‘डी’ मा एपीएफ र जावलाखेल रहेका छन् ।
प्रतियोगिताको बिजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ पाँउने छन । तेस्रो हुने टिमले एक लाख एक हजार र चौथोले ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ र ब्यक्तिगत विधाका उत्कृष्टले जनही ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
उद्घाटन खेल आयोजक न्युडायमण्ड र चितवन टाईग्रैसबीच हुनेछ ।