काठमाडौं । साबिकको विजेता त्रिभुवन आर्मी क्लब पोखरामा जारी चौथो संस्करणको आरबीबी–एनभिए राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।
पोखरा रंगशालामा बिहिबार हेल्प नेपाल स्पोर्टस् क्लबबाट वाक ओभर स्वरूप ३ अंक जोडेपछि आर्मीले शीर्ष स्थान हासिल गरेको हो । आर्मीले बिहिबार हेल्प नेपालसंग खेल्ने खेल तालिका थियो । तर, ३ भन्दा बढी विदेशी खेलाडी खेलाएपछि बढेको विवादमा हेल्पले प्रतियोगिता नखेल्ने जनाएपछि आर्मी स्वत विजयी भएको हो ।
शीर्ष स्थानमा उक्लने क्रममा आर्मीले ६ खेलबाट १५ अंक जोडेको छ । आर्मीले एपीएफलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । एपीएफको १४ अंक छ ।
बिहिबार भएको खेलमा एपीएफलाई अर्को विभागीय टिम नेपाल पुलिस क्लबले ३ - १ को सेटमा हराएको थियो । एपीएफ पुलिससंग २५–१७, २५–२१, २४–२६ र २५–१७ को सेटमा पराजित भएको थियो । एपीएफलाई हराएपछि पुलिसले १३ अंक जोड्दै तेस्रो स्थान हासिल गरेको छ ।
प्रतियोगिता अन्तर्गत बिहिबार ढोरपाटन स्पोर्ट्स क्लबले जावलाखेल ट्रेनिङ सेन्टरलाई २५–१७, १८–२५, २५–१५ र २५–१८ को सेटमा हरायो । तर, बिहिबार नै ढोरपाटन नयाँ बजारसंग २५–२२, २५–१८, र २५–१८ को सेटमा पराजित भएको थियो ।
बिहिबार भएको अन्तिम खेलमा भने रुपन्देहीको मणिमुकुन्दले जावलाखेललाई २५–१४, २५–१२, र २५–२० को सेटमा पाखा लगायो ।