काठमाडौं । सशत्र प्रहरीको एपीएफ क्लब पोखरामा जारी चौथो संस्करणको आरबीबी–एनभिए राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।
पोखरा रंगशालामा बुधबार दुई खेलमा जित निकालेपछि एपीएफले शीर्ष स्थान कब्जा जमाएको हो । मंगलबार पहिलो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई पराजित गरेको एपीएफले दोस्रो खेलमा हेल्प नेपालबाट वाक ओभर पाएको थियो ।
शीर्ष स्थानमा उक्लने क्रममा एपीएफले ढोरपाटनलाई २५–१२, २५–२१ र २५–१५ को सेटमा हराएको थियो । यस्तै हेल्प नेपालले नियम बिपरीत ४ विदेशी खेलाडी खेलाएपछी प्रोटेक्समा पर्दै एपीएफलाई वाक ओभर दिएको हो ।
बुधबार दुई खेलमा अंक जोडेसंगै एपीएफले १४ अंक जोडेर शीर्ष स्थान हासिल गरेको हो । एपीएफलाई साबिकको विजेता आर्मीले पछ्याईरहेको छ । आर्मीले १२ अंक जोडेको छ ।
आर्मीले बुधबार नेपाल पुलिस क्लब र मणिमुकुन्द भलिबल क्लबलाई हराएको थियो । आर्मीले पुलिसलाई २५–१९, २५–२१ र २५–१५ को सेटमा पराजित गर्दा मणिमुकुन्दलाई १७–२५, २६–२४, २४–२६, २५–९ र २५–९ को सेटमा हरायो ।
बुधबार नै भएको अर्को खेलमा नयाँ बजार क्लबले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई २५–१९, २५–१७ र २५–२१ को सेटमा हराएको छ ।