काठमाडौं । पोखरामा जारी चौथो संस्करणको आरबीबी–एनभिए राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितामा विभागीय टिम पुलिसले दोस्रो जित निकालेको छ । साेमबार भएकाे खेलमा जावलाखेल स्पोर्टस भलिबल क्लबलाई पराजित गर्दै पुलिसले दोस्रो जित दर्ता गरेको हो ।
पुलिसले जावलाखेललाई २५–२१, २५–१४ र २५–१८ को सेटमा पराजित गर्न सफल भयाे । आजै भएको अर्को खेलमा हेल्थ नेपाल स्पोर्टस क्लब समेत विजयी बन्यो । उसले नयाँबजार स्पोर्टस क्लबलाई २–२५, २५–२०, २५–२१, १६–२५ र १५–११ को सेटमा पराजीत गरेकाे हाे ।
प्रतियोगितामा एनभिए राष्ट्रिय क्लब च्याम्पियनसिपका उत्कृष्ट ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले २ लाख प्राप्त गर्दा उपविजेताले १ लाख पाउनेछन् । यस्तै तेस्रोले ५० हजार र चौथोले २५ हजार पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । विधागततर्फ लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले समान ५-५ हजार नगद पुरस्कार पाउने छन् ।