काठमाडौं । विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको आरबीबी–एनभिए राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
पोखरा रंगशालामा आइतबार भएको उद्घाटन खेलमा एपीएफले नयाँ बजार युथ क्लबलाई २५–२२, २५–२१ र २५–१० को सेटमा हराउदै विजयी सुरुवात गर्यो ।
यस्तै दोस्रो खेलमा आर्मीले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई २५–१९, २५–१५ र २५–११ को सेटमा हराएर सुखद सुरुवात गरेको छ ।
प्रतियोगिता अन्तर्गत नै अर्को विभागीय टोली नेपाल पुलिस क्लबले मणिमुकुन्द भलिबल क्लबलाई २५–२० , २५–१८ , २५–२१ को सेटमा हराएको छ । त्यस्तै हेल्प नेपालले ढोरपाटन स्पोर्टस क्लबलाई २५–१८, १७–२५ ,२७–२५, २५–१४ सेटमा पाखा लगायो ।
प्रतियोगितामा एनभिए राष्ट्रिय क्लब च्याम्पियनसिपका उत्कृष्ट ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले २ लाख प्राप्त गर्दा उपविजेताले १ लाख पाउनेछन् । यस्तै तेस्रोले ५० हजार र चौथोले २५ हजार पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । विधागततर्फ लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले समान ५-५ हजार नगद पुरस्कार पाउने छन् ।