काठमाडौं । विघटित नेपाल तेक्वान्दो संघले राष्ट्रिय खेलकुद परिषद (राखेप) सँग संघको दर्ता खारेज गर्ने अधिकार नभएको जनाएको छ ।
संघले सोमबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै राखेपसँग संघ खारेज गर्ने अधिकार नभएको जिकिर गरेको हो।
'राखेप संघ दर्ता गर्ने थलो हो । दर्ता खारेज गर्ने अधिकार छैन । दर्ता खारेज गर्नु विडम्बना हो,' पत्रकार सम्मेलनमा बोल्दै संघका महासचिव दीपराज गुरुङले भने ।
राखेपले राष्ट्रिय खेलकुद विकास ऐनको कार्यान्वयनका लागि भन्दै तेक्वान्दोसहित उसु र बडिबिल्डिङ संघलाई गत मंगलबार विघटन गरेको थियो ।
राखेपले अस्तित्वमा रहेको नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघको दर्ता खारेज गरेको हो ।
राखेपले प्रदीप जोशी अध्यक्ष र इन्द्रमान तुलाधर महासचिव रहेको नेपाल तेक्वान्दो महासंघ दर्ता गरेको थियो ।
महासचिव गुरुङले राखेपले संघको अस्तित्व र स्वायत्तता स्वीकार गर्नुपर्ने समेत दाबी गरे ।
यस्तै संघले राखेपले गरेको अबैधानिक रुपमा गरेको संघको दर्ता खारेजको निर्णय तुरुन्द बन्द गर्न आग्रह समेत गरेको छ ।