पोखरा । मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले १४ औं स्थापना दिवसको अवसरमा पोखरामा विविध खेलकुदसहित सम्मान कार्यक्रम गरी मनाउने भएको छ ।
एकेडेमीको पोखरामा सम्पन्न बैठकले यहि पुष १७ गते पोखरामा स्थापना दिवस मनाउने निर्णय गरेको हो । एकेडेमीले पुष १७ गते पोखरा रंगशालामा परम्परागत खेल ठेलो प्रतियोगिता र टग अफ वार प्रतियोगितासहित अग्रजहरुलाई सम्मान गर्ने कार्यक्रम तय भएको राखेप सदस्य तथा एकेडेमीका केन्द्रिय उपाध्यक्ष राजेश कुमार गुरुङले जनाएका छन्।
प्रतियोगितामा ठेलो तर्फ उपाधि विजेतालाई नगद रु ३० हजार, उपविजेतालाई नगद रु २० र तेश्रो हुनेलाई नगद रु १० हजार प्रदान गरिने एकेडेमीले जनाएको छ । त्यसै गरी र टग अफ वार प्रतियोगिता तर्फ उपाधि विजेतालाई नगद रु ५० हजार, उपविजेतालाई नगद रु ३० र तेश्रो हुनेलाई नगद रु २० हजार प्रदान गरिने एकेडेमीले जनाएको छ ।
एकेडेमीले पुष १७ गते पोखरा रंगशाला पर्खाल निर्माण समितिका पदाधिकारीसहित, अग्रज कवि, साहित्यकार र अग्रज पत्रकारहरुलाई समेत सम्मान गर्ने निर्णय भएको एकेडेमीका केन्द्रिय सदस्य कृष्ण तिमिल्सिनाले जानकारी दिएका छन्।
यसै गरी रङ्गहरुको पर्व फागु पूर्णिमाको दिन फागुन २२ गते विद्यालयस्तरिय छात्र÷छात्रा भलिबल प्रतियोगिता समेत आयोजना गरिएको एकेडेमीले जनाएको छ । उक्त प्रतियोगितामा हालै पोखरामा सम्पन्न एनप्याब्सन स्पोर्टस मिट, प्याब्सन स्पोर्टस मिट र हिसान कास्की अन्तर्गत सम्पन्न भलिबल सेमीफाइनालिष्ट टिमहरुका विच प्रतिष्पर्धा गर्ने गरी तयारी गरिएको केन्द्रिय सदस्य तिमिल्सिनाले जनाएका छन् ।
भलिबल छात्र÷छात्रा प्रतियोगितामा उपाधि विजेता उपविजेता र तृतिय हुने टिमले क्रमश नगद रु ३०, २० र १० हजार प्रादन गर्ने आयोजकले जनाएको छ ।