काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गरेको दर्ता खारेजीविरुद्ध नेपाल तेक्वान्दो संघले दायर गरेको रिटमा उच्च अदालत पाटनले कारण देखाउ आदेश जारी गरेको छ ।
सोमबार उच्च अदालत पाटनका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणाले राखेप, युवा तथा खेलकुद मन्त्रालयसहित पाँच संस्थालाई विपक्षी बनाएर शुक्रबार मुद्दा दायर गरेका थिए ।
राखेपविरुद्ध अन्तरिम आदेशको माग गरिएपनि उच्च अदालत पाटनले अन्तरिम आदेश नदिई अन्तरिम आदेशका लागि पक्ष विपक्षलाई छलफलमा बोलाएको छ ।
राखेपले राष्ट्रिय खेलकुद विकास ऐनको कार्यान्वयनका लागि भन्दै गत मंगलबार तेक्वान्दोसहित उसु र बडिबिल्डिङ संघलाई विघटन गरेको थियो ।
राखेपले अस्तित्वमा रहेको नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघको दर्ता खारेज गरेको हो ।
यस्तै राखेपले प्रदीप जोशी अध्यक्ष र इन्द्रमान तुलाधर महासचिव रहेको नेपाल तेक्वान्दो महासंघ दर्ता गरेको थियो ।