काठमाडौं । बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गर्ने बागमती प्रदेश खेलकुदको दोश्रो संस्करणमा ४ नयाँ खेल र टिम थपिने भएको छ ।
परिषद्का अध्यक्ष बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालको अध्यक्षतामा बिहीबार बसेको परिषद्को बैठकले उक्त निर्णय गरेको हो । थपिने ४ खेलमा पौडी (खुला), जुडो, उसु र आईटीएफ तेक्वान्दो रहेका छन्।
योसंगै बृहत खेलकुदमा १२ खेलमा प्रतिस्पर्धा हुने भएको छ । पहिलो संस्करणमा ८ खेलमा प्रतिस्पर्धा भएको थियो । एथलेटिक्स, भलिबल, क्रिकेट, कराते, तेक्वान्दो, बक्सिङ, ब्याडमिन्टन र फुटबलको प्रतियोगिता भएको थियो ।
त्यस्तै पहिलो संस्करणमा १३ जिल्लाका टिमले प्रतिस्पर्धा गरेकोमा ४ नयाँ टिम थप्दै टिम संख्यालाई १७ पु¥याउने निर्णय भएको परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले जानकारी गराए । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका र हेटौंडा उपमहानगरपालिका थपिने भएको छ ।
बैठकले गण्डकी प्रदेशमा भएको नवौ राष्ट्रिय खेलकुदमा बागमतीका पदक विजेता खेलाडी र प्रशिक्षकलाई उपलब्ध गराउने पुरस्कार राशीको पनि टुंगो लगाएको छ । व्यक्तिगत र टिम स्पर्धाका पदक विजेताले जनही समान नगद पुरस्कार पाउने भएका छन् ।
स्वर्णलाई १ लाख, रजतलाई ७५ हजार र कांस्यलाई ५० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । प्रशिक्षकतर्फ स्वर्णलाई २५ हजार, रजतलाई १५ हजार र कांस्यलाई १० हजार नगद पुरस्कार दिइने छ । बैठकले प्रदेश खेलकुद चैत २४ देखि ३० गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ ।