काठमाडौं । नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस) जिल्ला समन्वय समिति रुपन्देहीले पूर्व क्रिकेट खेलाडी शक्ति गौचनलाई सम्मान गरेको छ ।
भैरहवामा बुधबार भएको जिल्ला समन्वय समिति रुपन्देहीको छैटौं वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिबेशनको अवसरमा एनसीएसएस रुपन्देहीले गौचनलाई नगद १० हजारसहित सम्मान गरेको हो ।
करिब दुई दशक भन्दा लामो समय नेपाली क्रिकेटलाई खेलाडीको रुपमा अहोरात्र योगदान दिदै थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ईतिहास रच्दै नेपाली क्रिकेट विश्व जगतमा पुर्याउन सफल खेलाडी साथै सन्यासपछि देशका विभिन्न स्थानहरुमा पुग्दै नँया प्रतिभाहरुको खोजी गर्दै खेलाडी उत्पादनमा विशेष जोड दिदै आफ्नो जीवननै नेपाली किकेटमा समर्पित गरेको भन्दै गौचनलाई सम्मान गरिएको हो ।
गत वर्ष एनसीएसएस रुपन्देहीले क्रिकेट प्रशिक्षक जङ बहादुर थापालाई सम्मान गरेको थियो ।
सम्मानपछि गौचनले नेपाली क्रिकेट विकास तथा खेलाडी उत्पादनमा आफू निरन्तर रहिरहेको र आगामी दिनमा समेत अझै सक्रियता साथ निरन्तरता दिने बताए ।
यस्तै जिल्ला समन्वय समितिले सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको छ । तेस्रो अधिबेशनले माधब शर्मालाई संयोजकमा चयन गर्दै ११ सदस्यीय कार्यसमिति गठन गरेको छ।
नयाँ गठित जिल्ला कार्यसमितिको सह संयोजक नारायण अधिकारी , सचिव हरि गैरे , सह-सचिव प्रबिण पान्डे, कोषाध्यक्ष शिवराज गौतम तथा सदस्यमा अर्जुन शर्मा, पवन पान्डे, अजय भन्डारी , महेन्द्र कोइरी , हरि भट्टराई र सागर पिएसलाई चयन गरेको छ ।
कार्यक्रममा संयोजक मोहन ज्ञवालीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै जिल्लाले वर्षभरिमा गरेका क्रिकेट गतिविधिहरुको बारेमा जानकारी गराएका थिए भने कोषाध्यक्ष शिवराज गौतमले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए।