काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को तेस्रो कार्यसमिति बैठकले पनि रिक्त रहेको पदाधिकारी नियुक्तिबारे निर्णय गर्न सकेन।
दशरथ रंगशालामा मंगलबार बसेको बैठकमा पदाधिकारी नियुक्त मुख्य एजेन्डामा रहेको थियो।
तर, बैठकमा अध्यक्ष पंकज विक्रम नेम्वाङले तयारी नपुगेको भन्दै अर्को बैठकमा सहमतीबाट पदाधिकारीको निर्णय गर्ने बताएका थिए।
एन्फामा तीन सहायक महासचिव, एक सहायक कोषाध्यक्ष र १६ वटा स्थायी समिति बनाउन बाँकी रहेको छ।
बैठकमा एक उपाध्यक्ष र दुई सदस्य नआएको भन्दै अध्यक्षले पदाधिकारी नियुक्ति टार्ने काम गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए।
बैठकमा उपाध्यक्ष कुमार केसी, मणिराज विष्ट र पेमा लामा अनुपस्थित थिए। केसी प्रदेश सभा सांसदका उम्मेदजार हुन् । उनी चुनावी प्रचारमा ब्यस्त छन्।
यस्तै बैठकले फिफा कंग्रेसमा प्रतिनिधि पठाउने सम्बन्धमा समेत निर्णय गर्न सकेन।
तर, मार्चमा हुने फिफा कंग्रेसको सम्बन्धमा एन्फा अध्यक्षलाई जिम्मेवारी प्रदान गरि अध्यक्षले प्रतिनिधि तोक्ने निर्णय भने पारित भएको छ।