काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को तेस्रो कार्यसमिति बैठक मंगलबार बसेको छ ।
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको अध्यक्षतामा दशरथ रंगशालामा बसेको बैठकले विभिन्न ८ निर्णयहरु पारित गरेको छ ।
बैठकले मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल राइट्स सम्बन्धमा एन्फा सचिवालयको समन्वयमा कार्यसमिति सदस्य रविन्द्र चन्दको संयोजकत्वमा एक कमिटि गठन गरि सो कमिटिले आवश्यक योजना बनाई सो योजनामा कार्यसमितिको सबै सदस्यको सुझाव समेटेर टेन्डर प्रकृयामा जाने निर्णय गरेको छ ।
यस्तै एन्फा होस्टल संचालन सम्बन्धमा संघका कार्यसमिति सदस्य सरिला श्रेष्ठको संयोजकत्वमा सदस्य रमेश व्यन्जनकार र प्रवक्ता सुरेश शाह सदस्य रहने गरि एक कमिटि गठन गरि आवश्यक कार्यविधि तयार गरि संचालन गर्न सो समितिलाई दिने निर्णय पारित गरेको छ ।
बैठकले मार्चमा हुने फिफा कंग्रेसको सम्बन्धमा एन्फा अध्यक्षलाई जिम्मेवारी प्रदान गरि अध्यक्षले प्रतिनिधि तोक्ने निर्णय पारित गर्दै नेपालले प्राप्त गर्ने फिफा वर्ल्डकप टिकट सम्बन्धमा २ सय ९० वटा टिकट एन्फा कार्यसमिति, एन्फा सदस्य संस्थाहरु तथा फुटबल स्पोन्सर र शुभचिन्तकहरुलाई बिक्री गर्ने निर्णय गरेको छ ।
कार्यसमिति बैठकले शहिद स्मारक ए डिभिजन लिग डबल राउन्ड रोविनका आधारमा सम्पन्न गर्ने र सचिवालयले ए, बी र सी डिभिजन क्लबसँग गरेको छलफल पछि गरेको प्रस्तावलाई अनुमोदन गर्ने तथा ए डिभिजन क्लबहरुले विभिन्न स्कुलसँग सम्झौता गरि संचालन भइरहेको एकेडेमीहरुलाई विगतको सम्झौताको आधारले बार्षिक १०-१० लाख रुपैया उपलब्ध गराउने र धरान र बुटवलमा संचालित एकाडेमीलाई चैतसम्मको रकम भुत्तानी गर्ने निर्णय गरेको छ ।
त्यस्तै यू-२० का खेलाडी राकेश विश्वकर्माको उपचारमा लाग्ने सम्पुर्ण खर्च एन्फाले व्यहोर्ने र फुटबल खेलाडी प्रिजेन तामाङलाई उपचारको लागि तीन लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको एन्फाले जनाएको छ ।