काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाले सरकारले खेलकुदलाई विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको खेलकुद क्षेत्र समन्वय तथा प्रचार प्रसार उपसमितिका संयोजक समेत रहेका शेर्पाले निर्वाचन पश्चात बन्ने कांग्रेस नेतृत्वको सरकारले खेलकुदलाई विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।
उनले २०४६ सालको राजनीतिक परिवर्तनपछि खेलकुदमा भने अनुसारको विकास हुन नसकेको उल्लेख गर्दै खेलकुदलाई कांग्रेस नेतृत्वको सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए ।
नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको केन्द्रिय प्रचार प्रसार समिति अन्तर्गत खेलकुद क्षेत्र समन्वय तथा प्रचार प्रसारको जिम्मेवारी शेर्पालाई दिएको छ । समग्र पार्टीको खेलकुदको नेतृत्व गर्दै निर्वाचनको प्रचार प्रसारमा सघाउन कांग्रेसले शेर्पा संयोजक रहेको उपसमिति बनाएको हो ।
शेर्पाले प्रत्येक निर्वाचन क्षेत्रमा तीन जनाको समिति बनाएर आम निर्वाचनमा प्रचार प्रसारमा जुट्ने योजना सार्वजनीक गरेका छन् ।
‘खेलकुदको पदाधिकारी र खेलाडीलाई सबैलाई समेटेर कांग्रेसले गठबन्धनको पक्षमा १ सय ६५ निर्वाचन क्षेत्रमा सञ्जाल बनाउने र परिचालन गर्नेछ ।’ काठमाडौंमा आयोजित कार्यक्रममा शेर्पाले भने ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय प्रवक्ता समेत रहेका निर्वाचन समितिका संयोजक प्रकाश शरण महतले कांग्रेसले खेलकुदलाई प्राथमिकतामा राख्न नसकेको स्विकार गरे ।
'हामीले खेलकुदलाई प्राथमिकतामा नराखेको सत्य हो । अब कांग्रेस नेतृत्वको सरकारले खेलकुदमा लगानी गरेर यसलाई प्राथमिकतामा राखेर काम गर्छ ।' महतले भने ।
उनले विगतमा निर्वाचनमा खेलकुद क्षेत्रलाई राखेर उपसमिति बनाउने प्रलचन नरहेको उल्लेख गर्दै खेलकुद क्षेत्रकै व्यक्तित्वलाई समावेश गरेर उपसमिति बनाएको धारणा राखे ।
उनले थोरै लगानीमा धेरै नतिजा दिने खेलकुद क्षेत्रमा लगानी गर्न कांग्रेस नेतृत्वको सरकार तयार रहेको भन्दै निर्वाचनमा लाग्न सम्बद्ध सम्पुर्ण खेलकर्मीलाई आह्वान गरेका छन् ।
कार्यक्रममा खेलकुद क्षेत्र समन्वय तथा प्रचार प्रसार उपसमितिको उपत्यका संयोजक शिक्षित पराजुलीले खेलकुदको विकासमा पार्टी नेतृत्वले ध्यान दिनुपर्ने धारणा राखे । उनले खेलकुदमा गरिने लगानीले समग्र देशले प्रतिफल पाउने भन्दै नेतृत्वको ध्यानकर्षण गराएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका खेलकुद सम्बद्ध खेलाडी तथा पदाधिकारीको उल्लेख्य उपस्थिती रहेको थियो ।