काठमाडौं । आसन्न सहिद स्मारक ए डिभिजन लिग डबल राउण्ड रोविनमा सञ्चालन हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फा र ए डिभिजनका क्लबबीच काठमाडौंमा मंगलबार बसेको बैठकले ए सहिद स्मारक लिगलाई डबल राउण्ड रोविनमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकले आसन्न लिग पुस २६ देखि जेष्ठ २० गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ । योसँगै ए डिभिजन लिग ५ महिना चल्ने भएको छ ।
लिगका खेललाई उपत्यका बाहिर पनि आयोजना गर्ने र लिगलाई व्यवस्थित गर्ने सन्दर्भमा कार्यशाला गोष्ठीको आयोजना गर्ने निर्णय एन्फा र क्लबले गरेका छन् ।
लिग डबल राउण्डमा खेल्ने क्लबको इच्छा र एन्फाको सहजीकरणमा नयाँ ढाचामा नेपाली घरेलु लिग प्रवेश गर्ने ऐतिहासिक निर्णय भएको छ ।
लिगलाई डबल राउण्ड रोविनमा सञ्चालन गर्नुपर्ने माग यसअघि उठ्दै आएको थियो । तर क्लब र एनफाबीच आपसी समन्वय नहुँदा डबल लिगको अवधारणा छायाँमा पर्दै आएको छ ।
पछिल्लो निर्णयसँगै नेपाली फुटबलले प्रतिक्षा गरेको होम एण्ड अवे अवधारणामा लिग सञ्चालन गर्ने दिशामा क्लब र एन्फा अघि बढेका छन् ।