पोखरा । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले खेलकुद विश्वमा ठुलो अर्थतन्त्रको रुपमा विकास भैरहेको उल्लेख गर्दै यसबाट आर्थिक समृद्धि सम्भव रहेको बताएका छन् ।
पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गहतराजले खेलकुदको माध्यमबाट रोजगारी सिर्जना गर्नेदेखि देशको अर्थतन्त्रमा टेवा पुर्याउन सकिने बताए ।
उनले नीजि क्षेत्रको सहयोगले खेलकुद विकासलाई थप सार्थक तुल्याउँने उल्लेख गर्दै सबै तहका सरकारलाई समन्वय गर्ने र नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको बताए ।
मन्त्री गहतराजले खेलकुदको समग्र विकासमा स्थानीय, प्रदेश र सरकारले नीति कार्यक्रम र योजना बनाएर अघि बढ्नुपर्ने बताए । उनले राष्ट्रिय खेलकुद विकास ऐन र नियमावली कार्यान्वयनमा आईसकेको उल्लेख गर्दै यसले खेलकुदको नीतिगत विकासमा दुरगामी प्रभाव पार्ने बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आफ्नो प्रदेश खेलकुदलाई माया गर्ने प्रदेश रहेको उल्लेख गर्दै प्रतियोगिताको सफलतापूर्वक आयोजनाका लागि आवश्यक सहयोग गर्ने बाचा व्यक्त गरे । उनले प्रदेशको तर्फबाट केही कमजोरी भए क्षमा गरिदिन आग्रह गर्दै नवौं आयोजनाको व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले उच्च मनोबल र उत्साहका साथ प्रतियोगितामा सहभागी हुन सम्पुर्ण खेलाडीलाई आह्वान गरे ।
सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाबाट देशको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।
राखेप सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुदमा छनोट भएका खेलाडीले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने बताए । उनले नवौं राष्ट्रिय खेलकुदको दौरान रनिङ ट्रफी बनाउनेदेखि अनलाईनमार्फत खेलाडी दर्ता गरेर अभिलेखिकरणको काम सुरु गरिएको बताए ।