पोखरा । नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य उद्घाटन भएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा शुक्रबार विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन गरिएको हो ।
‘एकताबद्द देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको नवौंको उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घाटनको घोषणा गरे ।
यस्तै गण्डकी प्रदेशका ओलम्पियन टिका बहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गरे ।
युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले झण्डात्तोलन गरे ।
उद्घाटनको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको शुभकामना सन्देश वाचन गरिएको थियो ।
यस्तै नवौंमा सहभागिता जनाउने ११ टिमले मार्चपास गरेका थिए ।
त्यसबाहेक झाँकी, नृत्य, गायन लगायत आतिसबाजी गरिएको थियो ।
कोभिड महामारी लगायत विविध कारणले ४ वर्षपछि राष्ट्रिय खेलकुद आयोजना भएको हो ।
गण्डकीमा भने ३९ वर्षपछि प्रतियोगिता भएको हो । यस अघि गण्डकीमा २०४० सालमा राष्ट्रिय खेलकुद आयोजना भएको छ । नवौंको अधिकासं खेलहरु पोखरा रंगशालामा हुनेछ।
नवौंमा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
यस पटक विभागिय टोलि नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मी सहित सात प्रदेशका सात टिम र एनआरएनए गरि ११ टिमका खेलाडीले सहभागिता जनाउँदै छन् ।
यस पटक ३६ खेलका ४ सय ४ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।