पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंक लाल घिसिङले खेलाडी र खेलकर्मीको सहयोगले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्नताको संघारमा रहेको बताएका छन् ।
नवौं राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा बिहीबार पोखरा रंगशालामा आयोजित पत्रकार सम्मेलनमा सदस्य सचिव घिसिङले आफ्नो अठोटले मात्र नभई खेलाडी र खेलकर्मीको सहयोगले प्रतियोगिता आयोजना सम्भब भएको बताएका हुन् ।
‘नवौं सम्पन्नताको संघारमा छ । मौषमको चुनौती आएपनि तयारी सकिएको छ । मेरो अठोटले मात्र सम्भव भएको हैन । सबै खेलाडी र खेलकर्मीको सहयोगले भएको हो । यो सम्भवका लागि उहाहरुलाई क्रेडिट दिन्छु,’ घिसिङले भने ।
गण्डकी प्रदेशले आयोजना गर्ने नवौं खेलकुदको औपचारिक उद्घाटन भोलि शुक्रबार हुनेछ । नवौंको उद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुनले गर्नेछन् ।
सदस्य सचिव घिसिङले खेलकुदको सेलिब्रेटी खेलाडी भएको बताए ।
‘स्पोर्ट्सको सेलिब्रेटी खेलाडी हो । सदस्य सचिव हैन,’ उनले भने, ‘तपाईहरुले खेलाडीको चर्चा गर्नुपर्छ ।‘
सदस्य सचिव घिसिङले प्रतियोगिताको तयारी सकिएको उल्लेख गर्दै ६ हजार बढी खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने बताए ।
उद्घाटनका लागि ३ बजे रंगशालाको गेट खुला हुने र ४ बजे उद्घाटन कार्यक्रम सुरु हुने सदस्य सचिवले जानकारी दिए । उनले केहि खेलहरु सकिएको र केहि भईरहेको बताए ।
सदस्य सचिव घिसिङले नवौं सफल बनाउनका लागि गरेको सहयोग प्रति सरकारलाई धन्यवाद दिए ।