काठमाडौं । नाबालिका बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई सोमबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।
नेपाल प्रहरीले १० दिनको लागि म्याद मागेकोमा अदालतले असोज २० बाट लागू हुने गरि ७ दिनको म्याद थपिएको सन्दीपका वकिल अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिएका छन् ।
‘नेपाल प्रहरीले १० दिनको म्याद मागेकोमा २० गतेबाट लागू हुने गरी ७ दिनको म्याद थपेको छ । अब सन्दीपलाई २७ गते पुनः अदालतमा उपस्थित गराईने छ ।’ घिमिरेले सञ्चारकर्मीसँग भने ।
’सन्दीपले आफू निर्दोष रहेको कुरा भन्नुभएको छ ।’ घिमिरेले भने, ’सन्दीप कन्फिडेन्ट हुनुहुन्छ । आफु निर्दोष रहेको बताउनुभएको छ । गोपनीयता भंग भएको बारे वैकल्पिक उपचारबारे पनि सोध्नुभएको छ । मुद्दाका क्रममा यसबारे छलफल गरिने न्यायधिसले बताउनुभयो ।’ उनले भने ।
सन्दीपतर्फकी अर्की कानुन व्यवसायी सुधा रिजालले सन्दीपलाई फसाउन खोजिएको बताइन् ।
’नाबालिका भनिएको दुई वटा जन्मदर्ता बनाएको देखिएको छ । सिलसिलाबद्ध रूपमा सन्दीपलाई फसाउन खोजिएको देखिन्छ ।’ रिजालले भनिन्, ’उहाँले उमेर घटाएर दोस्रो जन्मदर्ता बनाउनुभएको छ त्यो प्रमाण हामी पेस गर्छौ ।’
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिहीबार पक्राउ परेका सन्दीपलाई प्रहरीले म्याद थपका लागि सोमबार अदालतमा उपस्थित गराएको छ ।
दसैं बिदाका कारण सरकारी कार्यालय बन्द रहेकाले उनलाई अदालत लगिएको थिएन।
सन्दीपविरुद्ध भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । यस्तै भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
सन्दीपले काठमाडौंकी १७ वर्षीया नाबालिकालाई भदौ ५ गते भक्तपुरको नगरकोट पुर्याएको र त्यसपछि काठमाडौंको एक होटलमा ल्याएर रातको समय जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।
तर, सन्दीपले आफुविरुद्ध झुटो आरोप लागेको बताउँदै कानुनी लडाई लड्ने बताउँदै आएका छन् ।