काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत केन्द्रिय सदस्यले कार्यसमिति बैठक बोलाउन माग गरेका छन् ।
विभिन्न ६ वटा एजेण्डाको माग गर्दै एन्फाका बहुमत केन्द्रिय सदस्यले कार्यसमिति बैठक बोलाउन अध्यक्ष पंकजबिक्रम नेम्वाङसँग आग्रह गरेका छन् ।
उपाध्यक्षत्रय विराजजंग शाही, दिपक खतिवडा र दिर्घबहादुर केसी (कुमार) सहित महेन्द्र क्षेत्री, मनिराज विष्ट, मनिष जोशी, रुपेश अधिकारी, भरतबहादुर बुढ थापा, रविन्द्र चन्द, रमेश ब्यञ्जनकार, सरिला श्रेष्ठ र टिका लामाले हस्ताक्षर सहित विधानको धारा ३९ को (२) बमोजिम बैठकको माग गरेका हुन् ।
एन्फा विधानमा एक तिहाई पदाधिकारीले कार्यसमिति बैठक माग गरेमा अध्यक्षले २१ दिनभित्र बोलाउनुपर्ने व्यवस्था छ ।
बहुमत केन्द्रिय सदस्यले एएफसी कांग्रेसमा नेपालको प्रतिनिधित्व तथा प्रस्तावित प्रतिनिधि तथा उम्मेदवारको सम्बन्धमा, फिफा कांग्रेसमा एन्फाको प्रतिनिधित्व गर्ने बारे, विधान अनुसार विभिन्न पदाधिकारी नियुक्ति र आवश्यक समिति गठन, मार्चमा हुने फिफा कांग्रेसमा एन्फाको प्रतिनिधित्व बारे, नेपालले प्राप्त फिफा विश्वकपको टिकटबारे र राष्ट्रिय लिग तथा सहिद स्मारक लिगको बारेमा निर्णय गर्नुपर्ने भएका कारण बैठक बोलाउन माग गरेका छन् ।
एएफसीको कार्यसमिति सदस्यमा गुपचुप रुपमा एन्फा अध्यक्ष नेम्वाङ उम्मेदवार बन्ने निर्णयको विरुद्धमा एन्फामा नयाँ विवाद सिर्जना भएको छ । एन्फाका बहुमत केन्द्रिय सदस्यले नेम्वाङको उम्मेदवारी रद्ध गर्न माग गर्दै एएफसीमा पत्र पठाएका छन् ।