काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का तीन उपाध्यक्षसहित १४ जना कार्यसमितिका पदाधिकारीले पंकजविक्रम नेम्वाङको उम्मेदवारी खारेजका लागि एसियाली फुटबल महासंघ (एएफसी) लाई पत्र पठाएको छ ।
एन्फा अध्यक्ष नेम्वाङले एएफसीको कार्यसमिति सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए । एएफसीको ३३औं चुनावी कंग्रेस आगामीमा बहराइनको मानामामा हुँदैछ ।
तर, एन्फा कार्यसमितिका १४ जनाले शुक्रबार नेम्वाङको उम्मेदवारी खारेजका लागि एएफसीलाई पत्र पठाएका छन् ।
नेम्वाङको उम्मेदवारी खारेजका लागि पठाइएको पत्रमा उपाध्यक्ष विराट जंग शाही, दीपक खतिवडा र दिर्घ बहादुर केसीले हस्ताक्षर गरेका छन् ।
यस्तै सदस्यसहित भरत बहादुर थापा,टिकाराम लामा, मनिराज विष्ट,रमेश ब्यन्जनकर, पुरुषोत्तम थापा, महेन्द्र छेत्री, विकास नारायण श्रेष्ठ, रविन्द्र चन्द, मनिष जोशी, सरिला श्रेष्ठ र रुपेश अधिकारीले हस्ताक्षर गरेका छन् ।
पत्रमा कार्यसमितिमा छलफल नभई नेम्वाङले एकलौटी निर्णय गर्दै उम्मेदवारी दिएको उल्लेख छ ।
'एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई एएफसी कार्यकारी समितिको सदस्य पदमा मनोनयन गर्ने विषयमा आवश्यक प्रक्रिया पूरा नभएको सम्बन्धमा हामी तपाईंलाई यो पत्र लेखिरहेका छौं,' उपाध्यक्ष विराट जंग शाहीले हस्ताक्षर गरेको पत्रमा लेखिएको , 'एएफसी निर्वाचनका लागि कुनै पनि पदमा उम्मेदवार मनोनयन गर्ने सम्बन्धमा एन्फा कार्यसमितिमा कहिल्यै छलफल र निर्णय भएको छैन । एन्फा कार्यकारी समितिका अधिकांश सदस्यहरूले एन्फा अध्यक्षले आफूलाई उम्मेदवारी दिने गैरकानूनी कार्यको कडा विरोध र प्रतिवाद गरेका छन् । तर, एन्फा अध्यक्षले हाल एन्फाको कार्यकारिणी समितिमा बहुमत नपाएकाले उनको उम्मेदवारीमा उम्मेदवारी दिने उनको एकपक्षीय निर्णयलाई फुटबल संघले प्रस्ताव गरेको मान्न सकिँदैन।
'यो उम्मेदवारीले एक व्यक्तिलाई मात्र होइन । नेपालको प्रतिनिधिलाई पनि प्रतिनिधित्व गर्छ । तसर्थ, यस्तो छलपूर्ण मनोनयन स्वीकार गर्नुहुँदैन। त्यसैले हामी एएफसीलाई नेम्वाङको मनोनयनलाई तुरुन्तै बेवास्ता गर्न र उनको मनोनयन रद्द गर्न अनुरोध गर्दछौं,' पत्रमा भनिएको छ ।