काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले बलात्कारको आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई भेटेका छन् ।
शुक्रबार चन्दले गौशलास्थित प्रहरी वृत्तमा गएर बलात्कारको आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेसँग भेट गरेका हुन् ।
नाबालिका बलात्कारको आरोपमा नेपाल प्रहरीले बिहीबार नेपाल आएका सन्दीपलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट पक्राउ गरेको थियो ।
क्यान अध्यक्ष चन्दले पारिवारिक सदस्यको रुपमा सन्दीपलाई भेट गरेको खेलपाटीलाई बताएका छन् । भेटका क्रममा सन्दीपले आफु निर्दोश रहेको र आफुलाई फसाईएको भनेर उल्लेख गरेको चन्दले बताए ।
‘मैले गल्ती गरेको छैन । मलाई फसाईयो भन्ने कुरा गरेको छ ।’ सन्दीपको भनाई उद्धित गर्दै चन्दले खेलपाटीसँग भने ।
भेटका क्रममा चन्दले कानुनले न्याय दिने उल्लेख गर्दै सन्दीपलाई धौर्यता राख्न सुझाएका छन् । उनले न्यायको लडाईमा आफु साथमा रहने आश्वासन सन्दीपलाई दिएका छन् ।
नेपाल प्रहरीले आईतबार अदालतमा सन्दीपलाई उपस्थित गराएर म्याद थप गर्ने र विस्तृत अनुसन्धान सुरु गर्ने तयारी गरेको छ । दशैंको सार्वजनीक बिदाका कारण अदालत बन्द छ ।
अदालत खुलेसँगै म्याद थपेर अनुसन्धान अघि बढाउने प्रहरीले जनाएको छ ।