रोम । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र कोरिया स्पोर्टस प्रेस युनियन (केएसपीयू) बीच खेलकुद पत्रकारिताको विकास र खेलकुद पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने विषयमा सम्झौता भएको छ।
इटालीको रोममा सम्पन्न अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ एआइपीएसको विश्व सम्मेलनको अवसरमा मञ्च केएसपीयुबीच बुधवार सम्झौता भएको हो।
सम्झौतामा पत्रकार मञ्चका तर्फबाट अध्यक्ष दुर्गानाथ सुबेदी र केएसपीयुका तर्फबाट अध्यक्ष जोङ को याङ ले हस्ताक्षर गरेका थिए।
सम्झौता अनुसार केएसपीयूले मञ्चले एनएसजेएफ एकेडेमी मार्फत गर्ने विभिन्न कार्यक्रम तथा सदस्यहरुको क्षमता अभिबृद्धि गर्न आयोजना गर्दै आएको प्रशिक्षण कार्यक्रममा आर्थिक तथा प्राविधिक सहयोग गर्नेछ। जस अन्तर्गत अनुसन्धान, प्रशिक्षण, छपाई तथा एक्सचेञ्ज प्रोगामहरु रहनेछन्।
सहमति पत्रमा हस्ताक्षर गरेपछि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले भने, 'सम्झौता पछि मञ्चले आफ्नो सदस्यहरुको क्षमता अभिबृद्धिमा थप कार्यक्रम गर्न मदत मिल्नेछ। हामीले सदस्यहरुलाई कोरियामा पठाएर समेत एक्सचेञ्ज प्रोगाम अन्तर्गत विशेष फाइदा मिल्न सक्ने विश्वास लिएका छौं।'
केएसपीयुका अध्यक्ष जोङले भने, 'मञ्चका गतिविधिबाट हामी पहिलेदेखि नै प्रभावित भएको हुनाले त्यस्ता कार्यक्रमलाई थप सहयोग पुगोस् भन्ने उदेश्यले हामीले यो सम्झौता गर्न मञ्चलाई नै रोजेका हौं।'