काठमाडौं । क्यान्डिडेटमास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनसिपमा आफ्नो विजयी यात्रा कायम राखेका छन् ।
प्रतियोगिताका डिफेन्डिङ च्याम्पियन थापाले शुक्रबार राती सम्पन्न दोश्रो चरणको खेलमा जापानका ताकेनुउची अत्सुसीलाई पराजित गरे भने शनिबार भएको तेश्रो चरणको खेलमा भारतका रनजीत आरकेलाई हराउन सफल रहे ।
तीन चरणको समाप्तिमा थापासँगै १४ खेलाडीले समान तीन तीन अंक बनाएका छन् । चौथो चरणको खेलमा थापाले तेश्रो बोर्डमा भारतका मधुसुदन केआरसँग कालो गोटीबाट प्रतिस्पर्धा गर्नेछन् ।
कोभिडका कारण दुई वर्षपछि आयोजित प्रतियोगितामा लगातार तीन खेलमा प्राप्त जितले बाँकी चरणका खेलमा पनि अनुकुल नतिजा निकाल्नेमा विश्वस्त रहेको थापाले बताएका छन् ।
एशियाका २० देशका १ सय ४६ जना खेलाडीको सहभागीतामा सेप्टेम्बर २९ मा शुरु भएको प्रतियोगिता अक्टोबर ५ मा सम्पन्न हुनेछ ।
छ ।