काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा आज (बुधबार) काठमाडौंमा हुदैछ । असारमा चुनावी साधारण सभा सकेको एन्फाले बुधबार विशेष साधारण सभा बैठक बोलाएको हो ।
बैठकमा एन्फा कार्यसमितिका निर्णय अनुमोदन गर्ने, श्वेत पत्र जारी गर्ने र मुख्य रुपमा दुई जना सदस्यको निर्वाचन गर्ने एजेण्डा रहेका छन् । गत असारमा भएको निर्वाचनमा चार जना केन्द्रिय सदस्यले बराबर मत प्राप्त गरेपछि अर्को साधारण सभामार्फत निर्वाचन गर्ने निर्णय भएको थियो ।
अन्तिम दुई केन्द्रिय सदस्यका लागि चार जनाको मत बराबर आएपछि बुधबारको विशेष साधारण सभाले निर्वाचनमार्फत निर्णय गर्नेछ । एन्फाको पछिल्लो केन्द्रिय निर्वाचनमा रुपेश अधिकारी, दिपक थापा क्षेत्री, दिपेन्द्र धिमाल र लोकेन्द्र गुरुङले समान ३९ मत प्राप्त गरेका थिए ।
रुपेश, दिपक र लोकेन्द्रले कर्माछिरिङ शेर्पा प्यानलबाट चुनावी मैदानमा उत्रिएका थिए भने दिपेन्द्र धिमालले पंकजबिक्रम नेम्वाङ प्यानलबाट उम्मेदवारी दिएका थिए ।
असारमा सम्पन्न चुनावी साधारण सभामा पंजकबिक्रम नेम्वाङ प्यानलबाट अधिकांश पदाधिकारी र सदस्य निर्वाचित भएका थिए । शेर्पा प्यानलबाट उपाध्यक्षमा कुमार केसी सहित ६ जना कार्यसमिति सदस्य निर्वाचित भएका थिए । २१ सदस्यीय एन्फाको केन्द्रिय निर्वाचित कार्यसमितिमा थप दुई सदस्य आफु निकटका व्यक्ति ल्याउन दुवै पक्षको जोड रहेको छ ।
बिहान ९ बजेबाट सुरु हुने विशेष साधारण सभा साढे ११ बजे अघिनै सक्ने तयारी छ । लन्च ब्रेकपछि निर्वाचन प्रक्रिया अघि बढाउने एन्फा निर्वाचन समितिको तयारी छ ।