काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा नेपाली कांग्रेसको प्रतिनिधि सभा निर्वाचनको समानुपातिकको बन्दसूचीमा परेका छन् ।
कांग्रेसले प्रतिनिधि सभाको समानुपातिकतर्फ तयार गरेको बन्दसूचीमा शेर्पाको नाम समेत समावेश छ ।
शेर्पा कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा समानुपातिकतर्फको उम्मेदवारको रुपमा सिफारिसमा परेका थिए ।
शेर्पा सहित १ सय १० जना उम्मेदवारलाई समावेश गर्दै कांग्रेसले बन्दसूची तयार गरेको हो ।
कांग्रेस विद्यार्थी संगठन नेबिसंघबाट राजनीतिक यात्रा सुरु गरेका शेर्पा पार्टीको युवा संगठन तरुण दलको संस्थापक केन्द्रिय सदस्य हुन् । उनले तरुण दलमा कार्यालय सचिवको जिम्मेवारीमा काम गरेका थिए ।
शिक्षा क्षेत्रमा आबद्ध शेर्पाले हिमालयन शेर्पा फुटबल क्लबमार्फत खेलकुद राजनीतिमा समेत क्रियाशिल रहदै आएका छन् । उनी अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रिय नेतृत्वसम्म पुगेर काम गरेका व्यक्ति हुन् ।
कांग्रेसको प्रतिनिधि सभा समानुपातिकको बन्दसूचीमा खेलकुद क्षेत्रबाट शेर्पा सहित केही एकाध व्यक्तिमात्र अटाएका छन् ।