काठमाडौं । काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिप फुटबलमा दर्शकको उपस्थिती उल्लेख्य देखिएको छ । सुरुवाती खेलमा दर्शकको उपस्थिती कम भएपनि नकआउट चरणका खेलमा दर्शकले राष्ट्रिय महिला फुटबल टिमलाई राम्रो साथ दिएका छन् ।
साफ च्याम्पियनसिपको सोमबार हुने फाइनल दिन अघिनै भीआईपीतर्फको टिकट ‘सोल्डआउट’ भएका छन् । साफ च्याम्पियनसिपको टिकट ब्यवस्थापनको जिम्मेवारी लिएको ‘पे वेल’ले भीआईपीतर्फको ७ सय बढी टिकट बिक्री भएको खेलपाटीलाई बताएको छ ।
पे वेलले भीआईपीतर्फको टिकट अनलाईनबाट मात्र किन्न सकिने व्यवस्था गरेको थियो । अपरान्ह ७ बजेअघिनै भीआईपीतर्फको टिकट बिक्री पुरा भएको वालेट कम्पनीले जनाएको छ ।
यस्तै, साधारणतर्फको प्यारापिटमा समेत टिकट बुकिङ उल्लेख्य मात्रामा देखिएको छ । अघिल्लो दिन करिब ४ हजार टिकट अनलाईन र अफलाइन बिक्री भएको पे वेलले जनाएको छ । खेल हुने दिन सोमबार दशरथ रंगशालामा चार वटा काउन्टर राखेर टिकट बिक्री गरिने कम्पनीले जनाएको छ ।
भीआईपीतर्फ ७ सय र साधारणतर्फ १२ हजार टिकट बिक्री गर्ने पे वेलको तयारी छ । सोमबार मध्यान्नसम्म सबै टिकट बिक्री हुने देखिएको पे वेलका अध्यक्ष भीमप्रसाद तिमिल्सिनाले खेलपाटीलाई बताए ।
साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रर्दशन गर्दै नेपाली टिमले फाइनल यात्रा तय गरेको छ । सोही टिमलाई हौसला दिन र खेल हेर्न दर्शकले अत्याधिक चासो देखाएका छन् । नेपाल र भारतबीच भएको सेमिफाइनलमा ७ हजार बढी दर्शक दशरथ रंगशाला पुगेर खेल हेरेका थिए ।
साफ च्याम्पियनसिपको फाइनलमा घरेलु टिम नेपाल र बंगलादेश भिड्दैछन् । प्रतियोगिताको सम्पुर्ण मार्केटिङको जिम्मेवारी 'हन्ड्रेट स्पोर्टस'ले लिएको छ ।