काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सहभागी ९ वटा टिमले पुरुष क्रिकेटको खेल तालिका पुन निर्धारण गर्न आग्रह गरेका छन् ।
प्रतिकुल मौसमका कारण निरन्तर खेल अवरुद्ध भएर प्रतियोगिता खेल्नै नपाएर बाहिरिनु परेको तथ्यलाई अघि सार्दै सहभागी ९ टिमले प्रतियोगिताको तालिका पुन निर्धारण गरेर खेल सञ्चालन गर्न आग्रह गरेका छन् ।
नवौं राष्ट्रिय खेलकुद असोज २९ देखि कात्तिक ३ गतेसम्म निर्धारण गरिएको छ । फ्रेन्चाईज क्रिकेट नेपाल टी ट्वान्टी लिग प्रभावित हुने भएपछि नेपाल क्रिकेट संघ (क्यान)को आग्रहमा नवौंको पुरुष क्रिकेट निर्धारण समय अघिनै सञ्चालन गरिएको हो । तर खराब मौसमका कारण प्रतियोगिताका खेलहरु सहज तरिकाले अघि बढ्न सकेका छैनन् । अधिकांश खेल टसनै नभएर रद्ध भएका छन् भने केही खेल सिमित ओभरमा खेलेर सकिएको छ ।
प्रतियोगितानै नखेलेर बाहिरिने घटनाले खेलाडीलाई समेत असर गर्ने र राष्ट्रिय खेलकुद जस्तो महत्व बोकेको प्रतियोगिता खेल्नै नपाएर सकिनुले खेलाडीको मेहनत र राज्यको लगानी खेर जाने सहभागी ९ क्लबको धारणा छ ।
पुरुष क्रिकेटमा सहभागी गण्डकी प्रदेश, प्रदेश एक, एपीएफ, मधेश प्रदेश, सुदूरपश्चिम, बागमती प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबले राखेप सदस्य सचिवलाई निवेदन लेखेर वर्षाको झरीमा प्रतियोगिता आयोजना गर्नु र प्रतियोगिताको दौरान कुनैपनि विकल्प नराखेर तालिका बनाएर खेलाडीको मेहनत र राज्यको लगानी खेर फालिएको बताएका छन् ।
सहभागी ९ क्लबले ८ बुदाँको ध्यानाकर्षण पत्र राखेप सदस्य सचिवलाई प्रस्तुत गर्दै मुलपानी क्रिकेट मैदानमा गराउने भनिएका ११ खेल मध्य एउटा पनि खेलको टस समेत हुन नपाई अंक बाँड्नु परेको बताएका छन् । उनीहरुले कीर्तिपुर मैदानमा पनि हालसम्म १३ मध्य ८ खेल नतिजा विहीन भएको तथ्य अघि सारेका छन् ।
‘खेल र खेलाडीको भावना विपरित कुनैपनि खेल नखेली प्रतियोगिताबाट बाहिरिनुलाई कुन दृष्टिकोणबाट हेर्ने ?’ सहभागी क्लबले प्रश्न गरेका छन् ।
प्रतियोगिताको एउटा समेत खेल नखेली बागमती प्रदेश र एपीएफ बाहिरिनु परेपछि सहभागी टिमले असन्तुष्टि जनाएका थिए । त्यसपछि राखेप, सहभागी टिम र क्यानका पदाधिकारीको बैठक काठमाडौंमा बसेको थियो । बैठकमा विभागीय टिम आर्मीले भने आईसीसीको नियम अनुसार अघि बढ्नुपर्ने अडान राखेको थियो । उसले खेल तालिका फेरबदल गर्ने विषयमा असहमती जनाएको छ ।
आर्मीले खेल तालिका पुन निर्धारण गर्ने निर्णयमा असहमती जनाएपछि सहभागी ९ टिमले भने सामुहिक रुपमा खेल तालिका पुन निर्धारण गरेर प्रतियोगिता सञ्चालन गर्न राखेपलाई ध्यानाकर्षण गराएका छन् ।

