काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मीले लगातार दोस्रो जित निकालेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा मंगलबार लुम्बिनी प्रदेशलाई ९ विकेटले हराउँदै आर्मीले लगातार दोस्रो जित निकालेको हो ।
वर्षाका कारण खेल १९ ओभरमा छोट्याईएको थियो । लुम्बिनीले दिएको ८६ रनको सामान्य लक्ष्य आर्मीले १० ओभर ३ बलमा १ विकेट गुमाएर पुरा गर्यो ।
उसका लागि हरि चौहानले ३५ तथा अर्जुन साउदले अविजित २८ रन बनाए । भिम सार्कीले अविजित १८ रन बनाए । लुम्बिनीका लागि अनिल खरेलले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले १९ ओभरमा ९ विकेट गुमाएर ८५ रन जोडेको थियो । उसका लागि कप्तान कृष्ण कार्कीले अविजित २८ तथा सन्दीप रजालीले १५ रन बनाएका थिए ।
देव खनाल र बासिर अहमदले १३/१३ रन बनाए । उसका ७ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
लुम्बिनीलाई सस्तैमा रोक्न आर्मीका सुशन भारीले ह्याट्रिकसहित ५ विकेट लिए । उनले ह्याट्रिक लिने क्रममा १५ औं ओभरको पहिलो बलमा बासिर अहमद, दोस्रो बलमा तिलकराज भण्डारी तथा तेस्रो बलमा धन साहीलाई पेभिलियन फर्काएका थिए । हरि चौहानले २ तथा आकास चन्द र सोमपाल कामीले समान १/१ विकेट लिए ।
जितसँगै आर्मीको ४ खेलमा ६ अंक भएको छ । समूह 'ए' को अंकतालिकामा आर्मी दोस्रो स्थानमा रहेको छ ।
लुम्बिनीले भने ५ खेलमा ३ अंक सहित पुछारमा रहेर प्रतियोगिता सकाएको छ । गण्डकी प्रदेशमा
आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो ।
प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ ।