काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा सोमबार लुम्बिनी प्रदेशलाई ७६ रनले हराउँदै पुलिसले लगातार दोस्रो जित निकालेको हो।
पुलिसले दिएको २ सय ५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय २८ रन बनायो ।
उसका लागि बसिर अहमदले अविजित ४६ रन तथा सौरभ खनालले २४ रन बनाए । दीपेन्द्र रावतले अविजित १३ रन तथा प्रज्वल थापाले १० रन बनाए ।
पुलिसका लागि ललित राजवशीले ३ तथा करण केसीले २ विकेट लिए । गुल्सन झाले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनायो । उसका लागि कुशल भुर्तेल र आरिफ शेखले अर्धशतकीय इनिङ खेले ।
भुर्तेलले ७५ तथा शेखले अविजित ५० रन बनाए । सुनिल धमलाले ३५ तथा दिलिप नाथले ३३ रन बनाए ।
लुम्बिनीका बसिर अहमद,अनिल खरेल,दीपेन्द्र रावत तथा विशाल विक्रम केसीले समान १/१ विकेट लिए ।
जितसँगै पुलिसको ३ खेलबाट ७ अंक भएको छ । समूह 'ए' मा पुलिस शीर्ष स्थानमा रहेको छ । यता,लुम्बिनीको भने ३ खेलबाट २ अंक भएको छ ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो ।
प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ ।
सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।