काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य दीपेन्द्र सिंह ऐरी र सीता राना मगरले सीप्यान वर्ष क्रिकेट खेलाडी अवार्ड प्राप्त गरेका छन् ।
क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) ले शुक्रबार आयोजना गरेको सीप्यान क्रिकेट अवार्डमा दीपेन्द्र र सीतालाई वर्ष खेलाडी अवार्ड प्रदान गरेको हो ।
दीपेन्द्रले पुरुषतर्फ र सीताले महिलातर्फ वर्ष क्रिकेट खेलाडी अवार्ड जितेका हुन् । उनीहरु दुबै जनाले अवार्डसँगै जनही १ लाख ३२ हजार रुपैयाँ प्राप्त गरे ।
पुरुषतर्फको अवार्डका लागि मनोनयनमा दीपेन्द्रसँगै करण केसी, रोहित पौडेल र कुशल भुर्तेल रहेका थिए ।
महिलाको मनोनयन सीतासँगै ज्योति पाण्डे, इन्दु वर्मा,कविता कुँवर र रुबिना क्षेत्री रहेका थिए ।
यस्तै उदयमान खेलाडीको अवार्ड देव खनालले प्राप्त गरे । उनले ६६ हजार नगद प्राप्त गरे ।
उदयमान अवार्डका लागि देव, हिरनमाय रोय,लोकेस बम, सागर ढकाल र आदिल आलम मनोनयनमा थिए ।
वर्ष उत्कृष्ट क्षणको अवार्ड महिला क्रिकेट टिमकी सदस्य अश्मिना कर्माचार्यले हात पारिन् ।
अश्मिनाले भोटिङमा ३,७१९ भोट प्राप्त गरिन् । उनले ६६ हजार नगद प्राप्त गरिन् ।
स्पेसल अवार्ड राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले प्राप्त गरे ।
खड्काले अवार्डसँगै १ लाख ३२ हजार प्राप्त गरे ।
सीप्यानले प्राविधिक समिति गठन गरेर तोकिएको मापदण्डका आधारमा खेलाडी छनोट गरिएको जनाएको छ ।
सीप्यानले हरेक वर्ष यस अवार्ड गर्दै आईरहेको छ ।