काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेट अन्तर्गत एनआरएनए एकेडेमी र एपीएफ क्लबबीचको खेल नतिजा विहीन सकिएको छ ।
टियु क्रिकेट मैदानमा शुक्रबार परेको भारी वर्षाको कारण खेल नतिजा विहीन सकिएको हो ।
वर्षाले खेल रोकिनु अघि एनआरएनएले ब्याटिङ गरिरहेको थियो ।
१९ ओभरमा झारिएको खेलमा एनआरएनएले १३ ओभर ३ बलमा २ विकेट गुमाएर १ सय २० रन बनाएको थियो ।
एनआरएनएका कप्तान सुनाम गौतमले ४५ रन बनाएर अविजित थिए । पृथु बास्कोटा २६ रनमा अविजित थिए ।
यस खेल नतिजा विहीन सकिएसँगै दुबै टोलीले एक एक अंक बाडेका छन् ।
समूह 'बी' एनआरएनएले २ खेलमा ४ अंक जोडेको छ ।
पहिलो खेलमा एनआरएनएले सुदुरपश्चिमलाई हराएको थियो ।
एनआरएनए समूहको शीर्ष स्थानमा रहेको छ ।
एपीएफले १ खेलमा १ अंक जोडेको छ ।
वर्षकै कारण मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र मधेश प्रदेशबीचको खेल रद्द भएको थियो ।
गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो ।
प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।