काठमाडौं । नाबालिगलाई बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफु निर्दोष रहेको बताएका छन् ।
सन्दीपले शुक्रबार सामाजिक संजाल फेसबुकबाट आफु निर्दोष रहेको बताएका हुन् ।
सन्दीपले आफु निर्दोष रहेको बताउँदै आधारहीन आरोपको सामना गर्न तयार रहेको बताएका छन् ।
वेस्ट इन्डिजमा रहेका सन्दीपले फु केहि दिनमा नेपाल फर्कने समेत बताएका छन् । उनले फर्कने मिति भने उल्लेख गरेका छैनन् ।
'म निर्दोष छु र नेपालको सम्मानीय कानुनमा पूर्ण विश्वास राख्छु । सीपीएल छाड्ने र केहि दिनमा नेपाल फर्कने निर्णय गरेको छु,' सन्दीपले लेखेका छन्, 'म सबै आधारहीन आरोपको सामना गर्न तयार छु । निर्दोषलाई न्याय मिलोस् र सम्बन्धित सबैलाई सही छानबिन होस्। आशा छ कि कानूनले समान काम गर्नेछ ।'
सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतले बिहीबार पक्राउ पुर्जी जारी गरेको थियो ।
यस्तै नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई निलम्बित गरिसकेको छ ।
प्रहरी बृत्त गौशालामा मंगलबार एक बालिकालाई बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध उजुरी परेको थियो ।
सन्दीपले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ ५ गते भक्तपुरको नगरकोट पुर्राएको त्यसपछि काठमाडौंको एक होटलमा ल्याएर रातको समय जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।
सन्दीप भने हाल वेस्ट इन्डिजमा रहेका छन् । सन्दीप जमैका तालाबाजबाट क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका हुन् ।
त्यसअघि उनले केन्याविरुद्ध नेपालको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा कप्तानी गरेका थिए ।
क्यानले गत वर्षको मंसिरमा सन्दीपलाई कप्तान नियुक्त गरेको थियो ।
क्यानको बोर्ड बैठकले ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएर सन्दीपलाई कप्तानी दिएको थियो ।