काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज शुक्रबार चार खेलहरु हुँदैछन् ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो ।
शुक्रबार दुई खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदान र दुई खेल मुलपानी मैदानमा हुनेछ ।
टियु क्रिकेटमा हुने पहिलो खेलमा एनआरएनए टिम र विभागिय टोली नेपाल एपीएफ क्लबबिच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९:१५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा सुदुरपश्चिम प्रदेशलाई पराजित गरि जित सहित प्रतियोगिताको सुरुआत गरेको एनआरएनए टिमले यस खेलमा पनि जितलाई निरन्तता दिने सोचमा रहेको छ । उता, एपीएफ जित सहित प्रतियोगिताको सुरुआत गर्न चाहन्छ।
टियुमै हुने दोस्रो खेलमा बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशबीच खेल हुनेछ । पहिलो खेलमा बिहिबार एनआरएनए टोलीसँग पराजित सुदुरपश्चिम दोस्रो खेलमा जित निकाल्न चाहन्छ । उता, पहिलो खेल वर्षाका कारण खेल्न नपाएको बागमती दोस्रो खेलमा भने जित निकाल्न चाहन्छ ।
यस्तै मुलपानी मैदानमा हुने पहिलो खेलमा मधेस प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । बर्षाको कारण पहिलो खेल गुमाएको मधेस प्रदेशले आज विभागीय टोलीविरुद्ध जित निकाल्ने मनसायमा रहेको छ । पुलिस पनि सोही लक्ष्यमा रहेको छ ।
मुलपानी मैदानमा हुने दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी तथा कर्णाली प्रदेश खेल्नेछन् । वर्षाको कारण पहिलो खेल गुमाएको कर्णाली प्रदेशले आज विभागीय टोलीविरुद्ध जित निकाल्ने मनसायमा रहेको छ । आर्मी पनि जितको लक्ष्यमा रहेको छ ।
प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।