काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले दोस्रो एकदिवसीयमा न्युजिल्याण्डलाई पराजित गरेको छ ।
बिहीबार भएको खेलमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई १ सय १३ रनले हराएको हो ।
यस जितसँगै अष्ट्रेलियाले ३ खेलको एकदिवसीय सिरिज एक खेल अगाबै जितेको छ । घरेलु टोलीले सिरिजमा २-० को अग्रता समेत लिएको छ ।
घरेलु टोलीले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याएको पाहुना टोली ३३ ओभरमा ८२ रनमा अलआउट भयो ।
उसका कप्तान केन विलियम्सले १७ तथा मिचेल सान्टनरले अविजित १६ रन बनाए । माईकल ब्रेसवेलले १२ तथा द्यार्ल मिचेलले १० रन बनाए ।
घरेलु टोलीका लागि एडम जाम्पाले ५ तथा मिचेल स्टार्क र सन एबटले २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । उसका लागि स्टेभन स्मिथले ६१ रनको अर्धशतकीय ईनिङ खेले । मिचेल स्टार्कले अविजित ३८ रन बनाए ।
ग्लेन म्याक्सवेलले २५ तथा जोस हेजलउडले २३ रनको अविजित ईनिङ खेले । एडम जाम्पाले १६ तथा एलेक्स केरीले १२ रन बनाए ।
भ्रमणकारी टोलीका लागि ट्रेन्ट बोल्डले ४ तथा म्याट हेनरीले ३ विकेट लिए ।
दुई टोलीबीचको तेस्रो एकदिवसीय खेल आईतबार रहेको छ ।