काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बित गरेको छ ।
क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरिएको जनाएको छ ।
नाबालिगलाई बलात्कारको आरोप लागेका सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएपछि क्यानले निलम्बन गरेको हो ।
काठमाडौं जिल्ला अदालतले बिहीबार सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
सन्दीपविरुद्ध अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएको हो ।
प्रहरी बृत्त गौशालामा मंगलबार एक बालिकालाई बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध उजुरी परेको थियो ।
सन्दीपले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ ५ गते भक्तपुरको नगरकोट पुर्राएको त्यसपछि काठमाडौंको एक होटलमा ल्याएर रातको समय जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।
सन्दीप भने हाल वेस्ट इन्डिजमा रहेका छन् । सन्दीप जमैका तालाबाजबाट क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका हुन् ।
त्यसअघि उनले केन्याविरुद्ध नेपालको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा कप्तानी गरेका थिए ।
क्यानले गत वर्षको मंसिरमा सन्दीपलाई कप्तान नियुक्त गरेको थियो ।
क्यानको बोर्ड बैठकले ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएर सन्दीपलाई कप्तानी दिएको थियो ।
