काठमाडौं । नवौं राष्ट्रिय खेलकुद २०८९ अन्तर्गतको पुरुष क्रिकेटमा एनआरएनए एकेडेमीले विजयी सुरुआत गरेको छ।
टियु क्रिकेट मैदानमा बिहीबार भएको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशलाई १२ रनले हराउँदै एनआरएनएले सुखद सुरुआत गरेको हो ।
एनआरएनएले दिएको ७५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ६ ओभरमा ६ विकेट गुमाएर मात्र ६२ रन बनायो ।
वर्षाको कारण मैदान ओसिलो भएपछि ढिला सुरु भएको खेल ६ ओभरमा घटाईएको थियो ।
सुदूरपश्चिमका लागि खडक बोहराले सर्वाधिक १२ रन बनाए भने कप्रण राजु रिजालले ११ रन जोडे । बसन्त खत्री १० रनमा आउट भए ।
एनआरएनएका लागि आशिष पोखरेल र दिपक क्षेत्रीले ३/३ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एनआरएनले ६ ओभरमा ४ विकेट गुमाएर ७४ रन बनाएको थियो ।
एनआरएनएका लागि सागर पुनले अविजित ४६ रन बनाए । कप्तान सुनाम गौतमले २४ रन बनाएका थिए ।
सुदूरका हेमन्त धामी र शेर मल्लले २/२ विकेट लिए ।
यस जितसँगै एनआरएनएले पहिलो खेलमै २ अंक जोडेको छ ।
सुदूरले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
प्रतियोगिता अन्तर्गत मुलपानी क्रिकेट मैदानमा तय भएको दुबै खेल रद्द भएको छ ।
वर्षाको कारण मुलपानीमा तय भएको गण्डकी प्रदेश र मधेश प्रदेशबीचको पहिलो खेल रद्द भएको छ । खेल टस समेत नभई रद्द भएको हो।
त्यस्तै मुलपानीमै तय लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशबीचको खेल समेत टस नभई रद्द भएको छ ।
प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।