काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिग खेल्ने थप २ टिम र टिम मालिक घोषणा गरेको छ।
क्यानले बिहीबार पत्रकार सम्मेलनको घोषणा गर्दै थप दुई टिम र टिम मालिकको घोषणा गरेको हो ।
पहिलो संस्करणको प्रतियोगिता खेल्ने नयाँ टिममा पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेड रहेका छन् ।
पोखराको मालिकमा पोस्टराज ज्ञवाली, सुबोध त्रिपाठी र अतिस ज्ञवाली रहेका छन् ।
फारवेस्टको मालिक एसआर स्पोर्ट्स एण्ड मिडिया भेन्चर्स युकेका रुपिन्दर बाग्गा रहेका छन् ।

क्यानले यस अघि ४ वटा टिमको नाम र टिम मालिक घोषणा गरिसकेको छ।
पहिलो संस्करणमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले प्रतिस्पर्धा गर्ने छन् । जसमा विराटनगर र जनकपुरको स्वामित्व भारतीय कम्पनीको रहेको छ ।
कान्तिपुर मिडिया ग्रुप अन्तर्गत रहेको कान्तिपुरको टिम मालिकमा महेश्वर स्वार,अल स्टार्स स्पोर्ट्स अमेरिका अन्तर्गतको लुम्बिनीको टिम मालिक संजय शर्मा, डाइमण्ड डिगिक्याप स्पोर्ट्स प्रालि, भारत अन्तर्गत रहेको विराटनगरका बिक्रम यादव र गोल्ड स्पोर्ट्स प्रालि अन्तर्गत रहेको जनकपुरका टिम मालिकमा गौरी शंकर धामनी रहेका छन् ।

पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ ।
क्यानले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ ।
यस्तै प्रतियोगितालाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यस अघि नै मान्यता दिईसकेको छ।