काठमाडौं। नाबालिगलाई बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफु निर्दोष रहेको बताएका छन्।
नेपाल क्रिकेट संघ क्यानका सचिव प्रशान्त मल्लसँग कुराकानी गर्दै सन्दीपले आफु निर्दोष रहेको बताएका हुन्।
उनले आफ्नो लागि एक बरिष्ठ वकिलको समेत व्यवस्था गरिदिन क्यानसँग अनुरोध गरेका छन्।
'सन्दीपसॅंग हिजो मैले सम्पर्क गरेको थिए । सीपीएल सकेर मात्र नेपाल फर्कने बताए।' मल्लले भने 'नेपाल प्रहरीको अनुसन्धानमा क्यानले सकारात्मक सहयोग गर्नेछ ।'
सन्दीपले सीपीएलका हरेक खेलमा आफु खेल्ने समेत बताएका छन् ।
“हामीलाई सन्दीपले वकिललाई लिईदिन अनुरोध गरेकामा हामी अभिभावकका रुपमा त्यसको व्यवस्था गरिदिने छौ।” मल्लले भने ।
आईसीसीको तथा एसीसीले समेत यस कुरामा चासो राखेको समेत मल्लले बताएका छन्।
प्रहरी बृत्त गौशालामा मंगलबार एक बालिकालाई बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध उजुरी परेको थियो ।
कप्तान सन्दीपले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ ५ गते भक्तपुरको नगरकोट पुर्राएको त्यसपछि काठमाडौंको एक होटलमा ल्याएर रातको समय जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।
प्रहरी टोलीद्वारा घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ ।
सन्दीप भने हाल वेस्ट इन्डिजमा रहेका छन् । सन्दीप जमैका तालाबाजबाट क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका हुन् ।
त्यसअघि उनले केन्याविरुद्ध नेपालको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा कप्तानी गरेका थिए ।