काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको आज बिहीबार तय भएको गण्डकी प्रदेश र मधेश प्रदेशबीचको खेल रद्द भएको छ ।
वर्षाको कारण मैदान भिजेको कारण गण्डकी र मधेशबीचको खेल रद्द भएको हो । खेल टस समेत नभई रद्द भएको हो।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने एनआरएनए र सुदुरपश्चिम प्रदेशबीचको उद्घाटन खेल भने ६ ओभरको हुनेछ ।
वर्षाको कारण ढिला खेल सुरु हुने भएपछि ६ ओभरमा घटाईएको हो ।
प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द लगायतले गरे ।
प्रतियोगिता अन्तर्गत नै बिहीबार थप दुई खेल हुँदैछ ।
टियु मैदानमा बिहीबार हुने दोस्रो खेलमा बागमती प्रदेश र प्रदेश १ बीच खेल हुनेछ ।
मुलपानी मैदानमा हुने दोस्रो खेलमा लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेश खेल्नेछन् ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना हुन लागेको हो ।
प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।