काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान रोहित पौडेलले केन्या भ्रमण नेपाली टोलीका लागि उपलब्धि मुलक भएको बताएका छन् ।
केन्या भ्रमणबाट फर्किएपछि विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै रोहितले भ्रमण उपलब्धि मुलक भएको बताएका हुन् ।
रोहितले भ्रमणमा टोलीको गल्ती पहिचानको मौका मिलेको बताए । टिमको ब्याटिङ सुधार भएको समेत उनले बताए।
'हाम्रो बलिङमा केही समस्या रहेको छ । बिचका ओभरहरुमा विकेट आउन कठिन भईरहेको छ,' रोहितले भने, 'ब्याटिङमा समेत राम्रो भएको छ ।'
केन्याविरुद्धको ३ खेलको एकदिवसीय अभ्यास खेलमा पौडेलले नेपालको कप्तानी गरेका थिए ।
कप्तानको भूमिकामा रहँदा केही जिम्मेवारी बढेपनि सिनियर खेलाडीबाट राम्रो साथ पाएको उनले बताए ।
'कप्तानको रुपमा टिममा रहँदा जिम्मेवारी त बढ्छ नै तर ज्ञानु दाई, दिपि दाईबाट मैले राम्रो साथ पाएको थिए,' उनले भने ।
नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले यस सिरिजले आगामी नोभेम्बरमा नामिबियामा हुने लिग टु का लागि खेलाडीहरुमा आत्मविश्वास बढाएको बताए ।
'उनीहरुको नै घरेलु मैदानमा गएर खेल्नु पर्ने छ । यसमा धेरै चुनौतीहरु रहेको छ ।' मल्लले भने, 'यसका लागि तयार रहन खेलाडीहरुलाई यस भ्रमणले थप सहयोग गर्यो ।'
युवा खेलाडी अर्जुन साउदमा राम्रो खेल्ने क्षमता आफुले देखेको समेत मल्लले बताए ।
केही समय पछि टिममा पुनरागमन गर्दा आफुलाई केही फरक जस्तो लागे पनि सबै निकट रहेकाले आफुलाई असहज नभएको मल्लले बताए ।