काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का कार्यकारी बोर्ड सदस्य एकेन्द्र कुँवरलाई प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेदवारको रुपमा सिफारिस गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी एमालेको निकट खेलकुद संगठन नेकोसले अन्तरपार्टी निर्देशन अनुसार खेलकुद महासंघको तर्फबाट प्रतिनिधि सभाको समानुपातिक उम्मेदवारको रुपमा कुँवरको नाम सिफारिस गरेको हो ।
कुँवरलाई अछाम क्षेत्र नम्बर एकबाट पहिलो नम्बरमा राख्दै महासंघले संघीय संसदको समानुपातिक उम्मेदवारको रुपमा सिफारिस गरेको छ ।
यस्तै, नेकोसले रामकृष्ण खड्कालाई नुवाकोट क्षेत्र नम्बर दुई र ओखलढुङ्ग क्षेत्र नम्बर एकबाट समानुपातिक उम्मेदवारको रुपमा सिफारिस गरेको छ ।
नेकोसले कुँवर सहित तीन जनालाई सिफारिस गर्दै समग्र खेल क्षेत्र, खेलाडी तथा युवा आन्दोलनको समेत उपस्थिति देखिने हुँदा सोही बमोजिम सिफारिस गरिएको उल्लेख गरेको छ ।
सुदूरपश्चिम प्रदेशबाट राखेप बोर्ड सदस्यको रुपमा नियुक्त भएका कुँवरलाई राखेपले कार्यकारी सदस्यको रुपमा चयन गरेको थियो । पर्वतीय खेलकुद महासंघका उपाध्यक्ष समेत रहेका कुँवर नेपाल भलिबल संघको बिच कमिसनका संयोजक समेत हुन् ।