काठमाडौं । भारतका राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य सुरेश रैनाले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
३५ वर्षीय रैनाले सामाजिक संजाल ट्वीटरबाट मंगलबार सन्यास घोषणा गरेका हुन् ।
भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनीसँगै २०२० अगस्ट १५ मा अन्तराष्ट्रिय क्रिकेटबाट रैनाले सन्यास लिएका थिए ।
रैना अब भारतीय घरेलु क्रिकेटमा खेलाडीका रुपमा देखिने छैनन् । रैना प्रथम श्रेणी तथा लिस्ट ए क्रिकेट २०१८ देखि खेलेका छैनन् ।
उनी २०२१ को आईपीएलमा पछिल्लो पटक मैदानमा देखिएका थिए ।
रैनाले केही देशका टी-ट्वान्टी लिगमा आफ्नो सहभागीता रहने संकेत गरेका छन् ।
रैनाले भनेका छन्, 'म रोड सेफ्टी सिरिजमा खेल्नेछु । दक्षिण अफ्रिका, श्रीलंका र युएईका टी-ट्वान्टी फ्रेन्चाइजले मसँग खेल्नका लागि प्रस्ताव गरेका छन् तर मैले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।'
रैनाले १०९ प्रथम श्रेणी खेलमा ६८७१ रन, ३०२ लिस्ट ए खेलमा ८०७८ रन र ३३६ टी–२० खेलमा ८६५४ रन बनाएका छन् । उनले सन् २००२/०३ मा यूपीका लागि आफ्नो सिनियर घरेलु क्यारियर सुरु गरेका थिए र २००५ मा अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए। रैनाले भारतका लागि २२६ एकदिवसीय, ७८ टीट्वान्टी र १८ टेस्ट खेलेका थिए ।
उनी सन् २०११ मा एकदिवसीय विश्वकप जित्ने टोलीका सदस्य थिए । उनी तीनै अन्तर्राष्ट्रिय फर्म्याटमा शतक प्रहार गर्ने पहिलो भारतीय ब्याट्सम्यान हुन् ।