काठमाडौं । युएईमा जारी एसिया कप क्रिकेटमा आज मंगलबार एक खेल हुँदैछ ।
सुपर चार अन्तर्गत मंगलबार हुने खेलमा समूह 'ए' बाट विजेता बनेको भारत र समूहको 'बी' को उपविजेता श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।
खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार साँझ ७:४५ मा हुनेछ ।
सात पटकको च्याम्पियन भारत पहिलो खेलमा जित हात पार्दै फाईनलको सम्भावना जीवितै राख्न चाहन्छ ।
सुपर चारको पहिलो खेलमा भारत पाकिस्तानसँग पराजित भएको थियो ।
यता, पाँच पटकको च्याम्पियन श्रीलंका पनि सुपर चारमा जितको यात्रा निरन्तर गरि फाईनलको सम्भावना थप मजबुत बनाउन चाहन्छ ।
भारत र श्रीलंकाबीचको पछिल्लो पाँच भेटमा भारत केही बलियो देखिएको छ । पछिल्लो पाँच भेटमा भारत ३ पटक विजयी भएको छ । श्रीलंका भने २ पटक विजयी भएको छ ।
पछिल्लो पटक २०२१ मा दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । जसमा भारतले श्रीलंकालाई ६ विकेटले हराएको थियो।
प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाएका हुन् ।
समूह 'ए' बाट भारत र पाकिस्तान तथा समूह 'बी' बाट अफगानिस्तान र श्रीलंका सुपर चारमा पुगेका छन् ।
सुपर चारमा चारै टोलीले एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।