काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष शिव कोईराला ‘ज्वाला’ प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारको रुपमा सिफारिसमा परेका छन् ।
माओवादी केन्द्रको काठमाडौं क्षेत्र नम्बर ७ कमिटीको आईतबारको बैठकले प्रदेश ‘ख’को प्रत्यक्षतर्फको उम्मेदवारको रुपमा कोईरालालाई एकल सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।
स्याङ्जा स्थायी घर भएका कोईरालाले काठमाडौंको क्षेत्र नम्बर ७ लाई केन्द्रमा राख्दै राजनीति गतिविधि गर्दै आएका छन् ।
राखेप उपाध्यक्षको रुपमा खेलकुदमा काम गरिरहेका कोईराला माओवादी केन्द्रको गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष समेत हुन् ।
मंसिर ४ गतेको संसदीय निर्वाचनमा माओवादी एकल रुपमा चुनावी प्रतिस्पर्धामा उत्रिए कोईरालाले प्रदेश सांसदको टिकट पाउने पक्का देखिएको छ । गठबन्धन भएको अवस्थामा अन्य दलको दाबी र बागबन्डामा टिकट निर्भर रहनेछ ।
उपाध्यक्ष कोईरालाले एकल रुपमा प्रदेश सभा सदस्यका लागि सर्वसम्मत रुपमा सिफारिसमा परेको खेलपाटीलाई बताए । उनले क्षेत्र र जिल्लाबाट टुङ्गो लागेको सिफारिसलाई चाँडै प्रदेश हुँदै केन्द्रले निर्णय गर्ने बताए ।