काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दिर्घबहादुर केसी (कुमार) आसन्न प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारको रुपमा सिफारिसमा परेका छन् ।
कुमारलाई कांग्रेस रुपन्देही जिल्ला क्षेत्र नम्बर २ (क)को प्रत्यक्षतर्फका उम्मेदवारको रुपमा सिफारिस गरिएको हो ।
खेलकुद पृष्ठभुमीबाट राजनीतिमा जमेका कुमारसँग अन्य ८ जनाको नाम प्रदेश सभा सांसदको प्रत्यक्षतर्फको उम्मेदवारको रुपमा सिफारिस गरिएको छ ।
गत असारमा सम्पन्न एन्फा निर्वाचनमा कुमार उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी एन्फाबाट प्रतिनिधित्व गर्ने नेपाल ओलम्पिक कमिटीको कार्यसमिति सदस्य समेत हुन् ।
रुपन्देही जिल्ला फुटबल संघको लामो समय नेतृत्व गरेका कुमारलाई मोफसलको फुटबलको प्रभावशाली नेता मानिन्छ । उनी नेपाली कांग्रेसको पार्टी राजनीतिमा समेत उत्तिकै सक्रिय छन् । महाधिवेशन प्रतिनिधि समेत रहेका कुमारले मोफसलको प्रतिष्ठित तिलोत्तमा गोल्डकप सञ्चालन गर्दै आएका छन् ।
‘खेलकुदबाट आएको हुनाले युवा र जनस्तर भिजेको छु । अहिलेसम्म रुपन्देहीमा जनस्तरमा लोकप्रियताको हिसाबले सबैले रुचाएका छन् । अब पार्टी नेतृत्वले के गर्छ त्यो हेर्न बाँकी छ ।’ कुमारले भने ।
आसन्न मंसिर ४ गते हुने आम निर्वाचनका लागि अहिले विभिन्न राजनीतिक दलभित्र क्षेत्रगत हिसाबले उम्मेदवारको सिफारिस भैरहेको छ । यस वर्ष खेलकुद क्षेत्रबाट ठुलो संख्यामा प्रतिनिधि र प्रदेश सभा सांसदका लागि उम्मेदवार छनोट हुने देखिएको छ ।