काठमाडौं । बंगलादेशका विकेटकिपर मुस्फिकर रहिमले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
३५ वर्षीय रहिमले सामाजिक संजाल ट्वीटरबाट आइतबार सन्यास घोषणा गरेका हुन् ।
रहिमले छोटो ढाँचा (फर्म्याट) बाट सन्यास लिने आफ्नो निर्णयको कारण पनि बताएका छन् । उनी टेस्ट र एकदिवसीयमा ध्यान दिन चाहन्छन् ।
'म टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्न चाहन्छु । र, टेस्ट तथा एकदिवसीय फर्म्याटमा ध्यान केन्द्रित गर्न चाहन्छु । मौका आएपछि म फ्रेन्चाइज लिग खेल्न उपलब्ध हुनेछु । दुई फर्म्याटमा गर्वका साथ मेरो राष्ट्रको प्रतिनिधित्व गर्न तत्पर छु',रहिमले लेखेका छन् ।
उनले बंगलादेशको प्रतिनिधित्व गर्दै १ सय २ टी-ट्वान्टी अन्तराष्ट्रियमा १९.२३ को औसतमा १५०० रन बनाएका छन् । उनी २०१२ र २०१४ को टी-ट्वान्टी विश्वकप अभियानमा टोलीको कप्तान थिए ।
पछिल्लो समय टी- ट्वान्टीमा रहिम नराम्रो लयबाट गुज्रिरहेका थिए ।
जारी एसिया कपमा उनले दुई खेलमा जम्मा ५ रन बनाएका थिए । श्रीलंकाविरुद्धको खेलमा टोलीको आवश्यक जितको लागि महत्वपूर्ण क्याच पनि छोडेका थिए ।
बिहीबार श्रीलंकासँग दुई विकेटले पराजित भएपछि बंगलादेश एसिया कपबाट बाहिरिएको थियो ।
उनको अन्तिम टी-ट्वान्टी अर्धशतक गत वर्षको विश्वकपमा आएको थियो । उनले शारजाहमा श्रीलंकाविरुद्ध अपराजित ५७ रन बनाएका थिए ।
रहिम आफ्नो टी-ट्वान्टी करियरमा शकिबपछि दोस्रो प्रमुख बंगलादेशी स्टार हुन् ।
रहिमको यो निर्णय अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप सुरु हुनुभन्दा एक महिनाअघि आएको छ ।