काठमाडौं । युएईमा जारी एसिया कप क्रिकेटमा आज आइतबार एक खेल हुँदैछ ।
सुपर चार अन्तर्गत आइतबार हुने खेलमा समूह 'ए' बाट विजेता बनेको भारत र सोही समूहको उपविजेता पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार साँझ ७:४५ मा हुनेछ ।
सात पटकको च्याम्पियन भारत पहिलो खेलमा जित हात पार्दै सुपर चारको यात्रालाई सुखद सुरुआत गर्न चाहन्छ । यता, दुई पटकको च्याम्पियन पाकिस्तान पनि जितका साथ सुपर चारको यात्रा सुरुआत गर्न चाहन्छ ।
भारत र पाकिस्तानबीच पछिल्लो पाँच भेटमा भारत हाबी हुँदै आएको छ । पछिल्लो पाँच भेटमा भारत ४ पटक विजयी भएको छ ।
पछिल्लो पटक यसै एसिया कपको समूह चरणमा दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । जसमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको थियो ।
प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाएका हुन् ।
समूह 'ए' बाट भारत र पाकिस्तान तथा समूह 'बी' बाट अफतानिस्तान र श्रीलंका सुपर चारमा पुगेका छन् ।
सुपर चारमा चारै टोलीले एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।