काठमाडौं । घरेलु टोली केन्याले पहिलो एकदिवसीय खेलमा नेपाललाई जितका लागि २ सय १९ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ गरेको केन्याले ४८ ओभर १ बलमा अलआउट भएर २ सय १८ रन बनायो ।
केन्याका लागि रकिप पटेल र कोलिन्स ओबुया अर्धशतकीय इनिङ खेले ।
पटेलले ६७ तथा ओबुयाले ६२ रन बनाए । ईफ्रान करिमले ३१ तथा सचिन बुदियाले २७ रन बनाए ।
नेपालका लागि सोमपाल कामी र करण केसीले समान ३/३ विकेट लिए । आदिल आलम र पवन सर्राफले समान १/१ विकेट लिए ।
केन्याविरुद्ध उत्कृष्ट सुरुआत गरेको नेपालले ४९ रनमा ४ विकेट लिएको थियो । तर, पाँचौं विकेटका लागि रकिप पटेल र कोलिन्स ओबुयाले १ सय ३० रनको साझेदारी गर्दै केन्याको इनिङ उकासेका थिए ।
आज नेपाल केन्यालाई हराउँदै सुखद सुरुआतको योजनामा रहेको छ ।
नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।
यता, केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा विजयी सुरुआत गर्न चाहन्छ ।