काठमाडौं । युएईमा जारी एसिया कप क्रिकेटमा आज शुक्रबार एक खेल हुँदैछ ।
शुक्रबार हुने खेलमा समूह 'ए' मा रहेका पाकिस्तान र हङकङबीच प्रतिस्पर्धा हुनेछ ।
शारजाह क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ मा हुनेछ ।
दुबै टोलीका लागि आजको खेल महत्वपूर्ण रहेको छ । यस खेल जित्ने टोलीले सुपर चारका स्थान पक्का गर्ने छन् ।
यस समूहबाट समूह बिजेताका रुपमा भारत सुपर चारमा पुगिसकेको छ । अघिल्लो खेलमा दुबै टोलीले भारतसँग हार व्यहोरेको थियो।
पाकिस्तान र हङकङबीचको यो नै पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय हो ।
यस अघि भएका तीन एकदिवसीय अन्तराष्ट्रियमा भने पाकिस्तान सबैमा विजयी भएको थियो ।
प्रतियोगितामा ६ टोली सहभागी छन् । समूह 'ए' मा साविक विजेता भारतसहित पाकिस्तान र हङकङ रहेका छन् । समूह 'बी' मा अफगानिस्तान,बंगलादेश तथा श्रीलंका रहेका छन् ।
टी-ट्वान्टी फर्म्याटमा जारी प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।