काठमाडौं । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशको टेबलटेनिस खेलाडी छनोट बुधबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।
प्रतियोगितामा ६४ पुरुष र ३५ महिला खेलाडीको सहभागिता रहेको काठमाडौं जिल्ला टेबलटेनिस संघका अध्यक्ष समेत रहेका प्राविधिक उपसमितिका संयोजक धर्ममान वज्राचार्यले जनाएका छन् ।
नकआउट आधारमा हुने प्रतियोगिताबाट समान ५÷५ पुरुष÷महिला खेलाडीको छनोट गरिने छ ।
प्रतियोगिताको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यलगायतको उपस्थिति थियो ।
यस्तै बागमती प्रदेशको उसु खेलाडी छनोट पनि बुधबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा सुरु भएको छ । प्रतियोगिता ११ जिल्लाका ७१ पुरुष र ४५ महिला खेलाडी सहभागी छन् ।
तीनदिने प्रतियोगिताबाट सान्सौमा ९ पुरुष र ६ महिला तथा थाउलोमा ८÷८ पुरुष÷महिला गरी जम्मा ३१ खेलाडीले राष्ट्रिय खेलकुदमा सहभागिताको अवसर प्राप्त गर्ने छन् । बिहीबारदेखि रग्बीको छनोट सुरु हुनेछ ।